देवदह साप्ताहिक
रुपन्देहीको देवदहमा रजोनिवृत्ति सम्बन्धी सचेतना तालिम सुरु भएको छ । ब्युँझिएका नेपाली गाउँले महिला सञ्जाल, रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो ।
१८ औँ राष्ट्रिय ग्रामिण महिला दिवसको पूर्वसन्ध्यामा उक्त सचेतना तालिमको आयोजना गरेको हो । तालिमको पहिलो दिन देवदह नगरपालिका–७ र ८ का महिला दिदीबहिनीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो । देवदह नगरपालिका–३ र ४ का महिला दिदीबहिनीहरूका लागि भोली सञ्चालन गरिने सञ्जालले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको उपप्रमुख विद्यालक्ष्मी गुरुङले रजोनिवृत्ति बारे महिलाहरूमा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाले ग्रामीण क्षेत्रमा महिलाहरूले रजोनिवृत्तिका क्रममा भोग्नुपर्ने विभिन्न शारीरिक तथा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने चुनौतीबारे जानकारी हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन हुँदै आएपनि सचेतनामूलक कार्यक्रम टोलटोलसम्म पु¥याउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट सिकेका ज्ञानलाई आफ्नो समूह तथा समुदायमा पुगेर अन्य महिलाहरूसँग पनि साझा गर्न आग्रह गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । तालिमका क्रममा प्रशिक्षक सोना न्यौपानेले रजोनिवृत्ति भनेको के हो, सामान्यतया कुन उमेरमा हुन्छ, यस अवधिमा महिलाको शरीरमा देखिने हर्मोन सम्बन्धी परिवर्तन, महिनावारी बन्द हुने प्रक्रिया तथा त्यससँग सम्बन्धित शारीरिक र भावनात्मक परिवर्तनबारे जानकारी गराउनु भएको थियो ।
त्यसैगरी, रजोनिवृत्तिका समयमा देखिन सक्ने तातो महसुस हुने, राति पसिना आउने, निद्रामा समस्या हुने, थकान, मनमा बेचैनी तथा हड्डीको स्वास्थ्यमा पर्न सक्ने असरबारे चर्चा गरिएको थियो । यस अवधिमा सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, पर्याप्त आराम, व्यक्तिगत स्वास्थ्यको हेरचाह तथा आवश्यकता अनुसार स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने विषयमा समेत सहजीकरण गर्नुभएको थियो । रजोनिवृत्ति महिलाको जीवनमा हुने प्राकृतिक प्रक्रिया भएकाले यसलाई लाज वा संकोचका रूपमा नलिई खुलेर छलफल गर्नुपर्नेमा जोड दिनु भएको थियो । ब्युँभिएका नेपाली गाउँले महिला सञ्जाल, रुपन्देहीको उपाध्यक्ष देवु भट्टराईको अध्यक्षता, सरस्स्वती थापाको स्वागत र सरस्वती पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन भएको थियो ।