असोज ३१ । देवदह साप्ताहिक
रुपन्देहीको देवदह नगरपालिका–५ मा रहेका २१ वटा टोल विकास संस्थाको संयुक्त बैठकबसी विभिन्न निर्णय गरेको छ । बैठकमा समसामयिक विषयमा छलफल गर्दै टोल विकास संस्था मार्फत योजना सम्झौता तथा कार्यान्वयन गर्ने, जुवातास तथा खोरखोरे जस्ता सामाजिक विकृति नियन्त्रण गर्ने र चाडपर्वका समयमा हुन सक्ने चोरीका घटनाप्रति सचेत रहन समुदायलाई जागरुक बनाउने लगायतका विषयमा निर्णय गरिएको बताइएको छ ।

त्यसैगरी, धान थ्रेसर प्रयोग गर्दा सडक तर्फ धानको थ्रेसर तेर्साएर काम गर्ने गरिएको गुनासो बढ्दै गएको विषयमा पनि बैठकमा छलफल भएको थियो । यसरी थ्रेसर सञ्चालन गर्दा सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदलयात्रीलाई दुर्घटनाको जोखिम बढ्ने भएकाले सम्बन्धित टोल विकास संस्थालाई निगरानी तथा नियमनको जिम्मेवारी दिने विषयमा जोड दिइएको थियो । बैठकमा बुद्ध टोल विकास संस्थाका तर्फबाट गोमा खरेल, सुन्दर टोल विकास संस्थाका तर्फबाट श्यामभक्त कँडेल तथा गुरुङ टोल विकास संस्थाका तर्फबाट तेजबहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडाध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेले टोल विकास संस्थाहरू स्थानीय विकास, सामाजिक सद्भाव र शान्ति सुरक्षाका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले टोल विकास संस्थाहरूले स्थानीय समस्या पहिचान गरी समाधानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सामाजिक विकृति नियन्त्रण, चोरी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
बैठकले टोल विकास संस्थाहरू बीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै वडाको समग्र विकास तथा सामाजिक सुधारका कार्यमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।