नगरपालिकाद्वारा योजना सम्पन्न गर्न कार्यतालिका समेत सार्वजनिक

असारे विकासलाई अन्त्य गर्न र दिगो र पारदर्शी कामको लागि देवदह नगरपालिकाले आगामी आर्थिक वर्षको चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत बजेट खर्च गर्ने योजना अघि सारेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाका विषयगत शाखा र वडा कार्यालयलाई जारी गरेको पत्रमा आगामी चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत बजेट  खर्च गर्ने  योजना  उल्लेख गर्नु भएको छ ।
 आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमको बुँदा २४५ मा चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत खर्चको लक्ष्य लिईएकोले उपभोक्ता मार्फत सञ्चालन हुने आयोजनाहरू प्रभावकारी तरिकाले कार्यान्वयनमा लैजान पत्रमा अनुरोध गरिएको छ । नगरपालिकाको कार्यतालिकामा असोज मसान्तसम्म उपभोक्ता समिति गठन, कार्तिक मसान्तसम्म उपभोक्ता समितिलाई तालिम, मङ्सिर मसान्तसम्म योजना सम्झौता र २०८२ बैशाख मसान्तसम्म कार्य सम्पन्न गरि जेष्ठ मसान्तसम्म भुक्तानी फरफारक गरी सक्नु पर्ने पत्रमा उल्लेख गरिएको छ । असारे विकासलाई निरुत्साहित गरी समयमै व्यवस्थित र गुणस्तरीय तवरले कार्यसम्पन्न गर्न कार्यतालिका बनाएर काम गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०८१÷०८२ को लागि देवदह नगरपालिकाको असार १० गते सम्पन्न चौधौं नगरसभाबाट आन्तरिक राजश्व तर्फ  २५ करोड ४६ लाख ८८ हजार ५ सय रुपैयाँ, सडक बोर्ड तर्फ १ करोड, एडिवि तर्फ ३३ करोड २० लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट प्राप्त समानिकरण, सशर्त, राजश्व बाँडफाड र समपुरक गरी   ४ करोड २ लाख २१ हजार  रुपैयाँ, संघीय सरकारबाट प्राप्त सशर्त, सामाजिक सुरक्षा, समपुरक, समानिकरण, राजश्व बाँडफाँड गरी  ८६ करोड ४१ लाख ५६ हजार  रुपैयाँ गरी कुल आय अनुमान १ अरब ५० करोड १० लाख ६५ हजार ५ सय रुपैयाँ गरेको छ । 
व्यय सामाजिक विकास तर्फ नगरपालिका र सशर्त गरी कुल ६२ करोड ६१ लाख ३१ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ  । सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रको लागि संघ, प्रदेश र सशर्त तर्फ  २५ करोड ३७ लाख २४ हजार र न.पा. तर्फ ३ करोड १५ लाख ७८ हजार ५ सय गरी जम्मा २८ करोड ५३ लाख २ हजार ५ सय रकम विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रका लागि सशर्त तर्फ  ४ करोड २२ लाख ३७ हजार र नगरपालिका तर्फ  ८९ लाख ३१ हजार गरी जम्मा  ५ करोड ११ लाख ६८ हजार रकम विनियोजन गरिएको छ । नगरसभाले आर्थिक विकास तर्फ सशर्त र नगरपालिका गरी जम्मा २ करोड ९६ लाख ४९ हजार बजेट विनियोजन गरेको छ । आर्थिक विकास गन्तर्गत कृषि तथा पशु सेवाको लागि सशर्त र नगरपालिका तर्फ गरी जम्मा  १ करोड २७ लाख ३९ हजार विनियोजन गरिएको छ । त्यसैगरी लक्षित कार्यक्रम तर्फ २ करोड २ लाख ७० हजार विनियोजन गरिएको छ । 
नगरपालिकाले पूर्वाधार तर्फ एडिबी तर्फ नेपाल सरकार अनुदान, नगर विकास कोष ऋण, संघीय सरकार सशर्त, संघीय समपुरक, प्रदेश समपुरक, प्रदेश सशर्त र नगरपालिका तर्फ गरी  ४७ करोड १३ लाख विनियोजन गरेको छ । वन, वातावरण, विपद् व्यवस्थापन एवं फोहोरमैला व्यवस्थापनको लागि सशर्त र नगरपालिकाबाट गरी जम्मा ८८ लाख विनियोजन गरेको छ । संस्थागत विकास र सुशासनमा  १८ करोड ७५ हजार बजेट विनियोजन भएको छ ।
 त्यसैगरी सबै वडाहरुको लागि जम्मा रु. ११ करोड ९९ लाख ९५ हजार रकमलाई शत प्रतिशत मानि त्यसको ७५ प्रतिशत रकम वडा समानिकरण तर्फ १२ वटा वडामा बराबर र बाँकी २५ प्रतिशत रकमलाई शुत्रमा आधारित रहेर गणना हुन आउने रकम बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कुल व्यय १ अरब ५० करोड १० लाख ६५ हजार ५ सय रुपैयाँ रहेको छ । 
 विगतलाई हेर्दा आन्तरिक राजश्य अनुमान गरे अनुसार उठ्न कठिन हुने देखिन्छ । योजना संझौता र सम्पन्नताको साथै राजश्व संकलनमा आम नागरिकको उल्लेखनीय सहभागिता भएमा समय सिमामानै काम सम्पन्न हुन सक्छ । देवदहको विकासलाई पारदर्शी र दिगो बनाउनको लागि आम नागरिकको भूमिका महत्वपूर्ण हुनु पर्दछ । 
आर्थिक बर्ष २०८०÷०८१ मा पनि समय तालिका अनुसार प्रायः योजना संझौता भएको हुदा यस अििर्थक बर्ष २०८१÷०८२ मा पनि समय तालिका अनुसार काम हुने देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा बताउनु हुन्छ । सबै शाखा, सबै वडाहरुको साथ र सहयोग रहेमा समयमानै संझौता गर्ने र कार्य सम्पन्न गर्ने उहाँको भनाई रहेको छ । उपभोक्ता मार्फत गरिने काम मात्र होईन ठेक्का मार्फत गरिने काम समेत समयमानै सम्पन्न गर्न नगरपालिका लागि रहने सापकोटाको भनाई रहेको छ । यस आर्थिक बर्ष २०८१÷०८२ मा समयमानै ठेक्काको टेण्डर निकाल्ने र निरन्तर कामको फलो अफ गर्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनु भयो । 
दिगो र पारदर्शी कामको लागि समयमानै काम हुनु पर्ने र सबैले आ–आप्mनो काम पुरा गर्नु पर्ने सापकोटाले बताउनु भयो । समयमानै काम गर्न सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र आम देवदहवासीको साथ र सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो । देवदह साप्ताहिकसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नु भयो – देवदहमा यसरी तालिका बनाएर काम गर्ने हो भने काम दिगो र पारदशी बन्नको साथै जवाफदेहीतामा समेत बृद्धि हुदै जाने छ । समय हुदा सम्म काम नगर्ने र पानी पर्न लागि पछि आर्थिक बर्षको अन्त्यमा काम सुरु गर्ने पद्धतीको समेत अन्त्य गर्न सकिने उहाँको भनाई रहेको छ ।
 देवदह नगरपालिकामा समयमानै काम सम्पन्न गर्ने हो भने नागरिकले गर्ने गुनासो समेत घट्न सक्ने देखिन्छ । अहिले प्रकाशित समय तालिका अनुसार काम हुन सकेमा र अनुगमन प्रभावकारी भएमा देवदहमा दिगो विकास हुन सक्ने देखिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *