तिलोचन दहाल
रुपन्देहीको देवदह नगरपालिकाले बजार अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीको नेतृत्व बजार अनुगमन गरिएको हो । देवदह नगरपालिका वडा नं. १२ शंकरपुर र देवदह नगरपालिका वडा नं. १ ढेकावर बजारमा अनुगमन गरिएको देवदह नगरपालिकाका प्रशासकीय अधिकृत एवं बजार अनुगमन समितिका सदस्य सचिव गंगा प्रसाद पन्थीले बताउनु भयो ।

१० वटा खाद्यन्न पसलको अनुगमन गर्दा उपभोग्य मिति सकिएका तथा लेवल नभएका बिस्कुट, चाउचाउ, किसमिस, भुजा, कोकाकोला लगायतका सामाग्री जफत गरी नष्ट गरिएको बजार अनुगमन संयोजक अधिकारीले बताउनु भयो । पहिलो पटक म्याद नाघेका लेवल नभएका समाग्री बिक्री वितरण नगर्नु अनुरोध गरिएको थियो । साथै मूल्य सुची राख्न र व्यवस्थित तरिकाले सामाग्री राख्न आग्रह अर्दा समेत वेवाथा गरिएको कारण यस पटक सामाग्री जफत गरी नष्ट गरिएको अधिकारीले बताउनु भयो । १० वटा पसलको अनुगमन गर्दा १० वटै पसलमा उपभोग्य मिति कटेका सामाग्री भेटाईएको थियो । यस पटक म्याद कटेका र लेबल नभएका सामाग्री बरामद गरी नष्ट गरिएको र मर्यादित ब्यापार गर्न तथा मूल्य सुची अनिवार्य राख्न आग्रह गरिएको अधिकारीले बताउनु भयो ।

अव फेरी अर्को चरणको बजार अनुगमन गर्दा म्याद नाघेका सामाग्री बिक्री गर्ने ठाँउमानै राखेर व्यापार गरेको वा मुल्य सूची र लेबल नभएका सामाग्री राखिएको वा बिल नभएका सामाग्री भेटाईएमा सामाग्री जफत गर्नको साथै जरिवाना समेत गरिने संयोजक अधिकारीले बताउनु भयो ।

बजार अनुगमनमा अनुगमन समितिका संयोजक तथा सदस्यहरु, नगर प्रहरी, देवदह प्रहरी कार्यालयका प्रतिनिधि, संचारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनलाई निरन्तरता दिने बजार अनुगमन समितिका सदस्य सचिव तथा देवदह नगरपालिकाका प्रशासकीय अधिकृत गंगा प्रसाद पन्थीले बताउनु भयो ।