
तिलोचन दहाल
अहिले सहकारी संस्थामा मात्र होईन सबै कार्यालय र संघ संस्थाहरुमा लेखा समिति गठन भएको हुन्छ । धेरैमा साधारण सभाबाट लेखा समितिको छनोट गरिएको छ भने केहीमा समितिले छनोट गरेको पनि पाईन्छ । समितिले छनोट गरेको आन्तरिक लेखा समिति स्वभावैले समिति प्रति जवाफदेही हुने भयो भने साधारण सभा वा सभाबाट निर्वाचित आन्तरिक लेखा समिति सभा सदस्य प्रति उत्तरदायी हुने भयो । अहिले प्रायः सबै क्षेत्रमा सुशासन कायम हुन नसकेका कुराहरु उठिरहेको अवस्था छ । सहकारी संघ संस्थाहरु अरु संघ संस्था र कार्यालय भन्दा फरक प्रकृतिको संस्था हो । सहकारीको आप्mनै मूल्य मान्यता र सिद्धान्त रहेको छ । सहकारीमा हरेक शेयर सदस्य मालिक भएको महसुस गर्ने खालको व्यवाहार हुन जरुरी छ । सहकारी संघसंस्थाहरु खुल्ला र स्वेच्छिक सदस्यता भएका स्वायत्त प्रजातान्त्रिक, आर्थिक र सामाजिक एकाइहरु हुन् । सदस्यहरुद्वारा सदस्यहरुका लागि सदस्यहरुको संगठित संस्था भएकाले सहकारी संघसंस्थाहरुमा सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण र सहभागिता रहेको हुन्छ । सहकारी प्रजातान्त्रिक मूल्यमान्यता र सिद्धान्तमा चल्ने संस्था भएकाले निष्पक्षता, पारदर्शिता र जवाफदेहिता यसका आधारभूत तत्वहरु हुन् । सहकारी संघसंस्थाको सम्पूर्ण गतिबिधि, कारोबार तथा हरहिसाबमा विश्वसनीयता र पारदर्शिता रहनुपर्दछ । यसैलाई मध्यनजर गर्दै सहकारीमा आन्तरिक लेखा सुपरिवेक्षण समिति निर्माण गरिएको हुन्छ । आन्तरिक लेखा सुपरिवेक्षण समिति सदैव साधारण सभा प्रति उत्तरदायी हुनु पर्दछ । लेखा समिति सञ्चालक समिति, कार्यसमितिले छान्नु भनेको शेयर सदस्य, सदस्य, उपभोक्ता आदिलाई धोका दिनु हो । त्यसकारण साधारण सभाले मात्र लेखा समितिलाई छान्न पाउँछ । साधारण सभाले छानेको लेखा समिति साधारण सभा प्रति उत्तरदायी हुने हुन्छ । आन्तरिक लेखा सुपरिवेक्षण समितिले धेरै काम गर्न सक्छ ।
साधारणसभा सहकारी संस्थाको सर्वोच्च निकाय हो । वर्षमा एक पटक अनिवार्य रुपमा हुने साधारणसभा सदस्यहरुको विशाल र महत्वपूर्ण सभा हो । प्राय ः प्रत्येक ४|४ बर्षमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन र छनौट पनि यसै सभाबाट हुने गर्दछ । संस्था सञ्चालनमा सञ्चालक समितिको भूमिका मुख्य जिम्मेवार रहन्छ । संस्था सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण निर्णय गर्ने अधिकार सञ्चालक समितिमा रहन्छ । यसको अर्थ सञ्चालक समितिले आप्mनो अनुकूलको जे जस्तो निर्णय पनि गर्न सक्दछ भन्ने होइन । कुनै पनि विषयमा निर्णय गर्दा सञ्चालक समितिले सहकारी ऐन, नियमावली, मापदण्ड, सहकारी विभाग तथा सहकारी शाखाबाट जारी निर्देशिकाहरु, संस्थाको आफ्नै विनियम, संस्थाका आन्तरिक नीति तथा कार्यविधिहरु, साधारणसभाको निर्णय रणनीतिक योजना, वार्षिक योजनाहरु तथा बजेटको पूर्ण पालना गर्नुपर्दछ । सहकारी सदस्यहरुद्वारा सदस्यहरुको लागि सदस्यहरुको संगठित संस्था हो । सहकारी प्रजातान्त्रिक मूल्य मान्यता र सिद्धान्तमा चल्ने संस्था भएकोले निष्पक्षता, पारदर्शिता र जवाफदेहिता यसका आधारभूत तत्वहरु हुन् । प्रजातन्त्रका आधारभूत तत्वहरुलाई आत्मसात गर्ने सन्दर्भमा सहकारी संघ संस्थाको कारोवार तथा हर हिसाबमा विश्वासनीयता र पारदर्शिता हुनुपर्दछ । सहकारीमा आन्तरिक लेखापरीक्षण समिति एक अपरिहार्य महत्वपूर्ण अंगको रुपमा क्रियाशिल रहेको हुनु पर्दछ । सामुहिक हक हित सुनिश्चित गर्न, सम्पत्ति, जाय जेथा, नगद कोष तथा अन्य पूँजीगत स्रोत साधन र सरसामानहरुको सुरक्षा र सदुपयोगको लागि आन्तरिक लेखपरीक्षण ज्यादै उपयोगी र महत्वपूर्ण औजार हुनु पर्दछ ।
आन्तरिक लेखापरीक्षणको माध्यमबाट संस्थाको जिम्मेवार व्यक्ति वा समूहबाट भएका त्रुटि, गलत निर्णय, असावधानी, र अनुत्तरदायी कार्य समयमा नै पत्ता लगाउने र सो कार्य गर्ने गराउने व्यक्तिको ध्यान आकृष्ट गर्न र ठूलो नोक्सानी हुनबाट रोक्न तथा गल्ती सुधार गर्न तत्काल सकिन्छ । सहकारी संस्था सञ्चालन तथा व्यवस्थापनमा मुख्य जिम्मेवारी प्राप्त गरेका सञ्चालकहरुले संस्था ठीक ढंगले सहकारी ऐन, नियमावली, मापदण्ड, सहकारी विभाग तथा सहकारी शाखाबाट जारी निर्देशिकाहरु, संस्थाको आफ्नै विनियम, संस्थाका आन्तरिक नीति तथा कार्यविधिहरु, साधारणसभाको निर्णय, रणनीतिक योजना, वार्षिक योजनाहरु अनुरुप सञ्चालन गरे नगरेको, सहकारीको व्यवस्थापन प्रभावकारी ढंगले गरे नगरेको विषयमा निरन्तर अनुगमन गर्न साधारणसभाले निर्माण गर्ने ज्यादै महत्वपूर्ण समिति सहकारी संस्थाहरुको लेखा तथा सुपरिवेक्षण समिति हो ।
लेखा सुपरिवेक्षण समिति र सञ्चालक समितिको केवल जिम्मेवारी मात्र फरक हो, सञ्चालक समितिले गरेका निर्णयहरु तथा भएका कार्यक्रमहरुको बारेमा समेत सुक्ष्म विश्लेषण तथा परीक्षण गरेर ऐन नियम, योजना तथा बजेट अनुसार भएनभएको पहिचान गरी आवश्यक परे सुधारका लागि सुझाव दिन सक्ने लेखा सुपरिवेक्षण समिति भूमिका तथा जिम्मेवारीका हिसाबले सञ्चालक समिति भन्दा कम महत्वको होईन भन्ने कुरा बुभ्mन जरुरी छ ।
अन्य सामाजिक संघ संस्थामा भन्दा सहकारीमा आन्तरिक लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ । सहकारीमा शेयर सदस्यको आर्थिक सहभागिता अनिवार्य भएको कारण सहकारीहरु कुनै न कुनै रुपमा आर्थिक कारोवारसँग जोडिएका हुन्छन् । सहकारीमा सुशासन कायम गर्नको लागि आन्तरिक लेखा सुपरिवेक्षण समितिको सबै भन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ । आन्तरिक लेखा सुपरिवेक्षण समितिले धेरै तर्फ विचार पु¥याउनु पर्दछ ।
१. लक्ष्य, योजना र बजेटको अवस्था पत्ता लगाउनु ः
साधारण सभाले गरेका निर्णयहरु, लक्ष्यहरु र कार्यक्रम तथा बजेटको अवस्था के छ भनेर पत्ता लगाउनु पर्दछ । लक्ष्य अनुसार काम हुन नसकेमा बजेटको अवस्था समेत के छ भनेर तुलना गर्नु पर्दछ । लक्ष्य र कार्यक्रमहरु पुरा हुन नसक्नाको कारण समेत पत्ता लगाएर सञ्चालक समितिलाई सचेत गर्नु पर्दछ ।
२) गल्ती पत्ता लगाउनु ः
काम गर्ने सिलसिलामा सहकारीमा सामान्य गल्तीहरु हुन सक्दछ । तर, उक्त गल्तीको ढाकछोप हुँदै गयो भने गम्भीर परिस्थितिको सृजना हुन सक्छ । लेखा व्यवस्थापनमा हुने सामान्य गल्तीहरुलाई समयमानै सुधार गर्नको लागि आन्तरिक लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने गर्दछ । गल्ती पत्ता लगाउँदा गल्तीको कारण र प्रकार समेत यकिन गर्न सक्नु पर्दछ । गल्तीलाई यसरी हेर्न सकिन्छ ।
क. भूलवस हुने गल्ती ः
कुनै कारोबारको हरहिसाब राख्दा भूलवश छुट्न सक्छ । त्यस प्रकारको गल्ती तुरून्तै पत्ता लगाउन सकिँदैन । यस प्रकारको गल्ती आन्तरिक लेखा सुपरिवेक्षण समितिले पत्ता लगाउनु पर्दछ ।
ख. अभिलेखनकर्ताबाट हुने गल्ती ः
कारोवार तथा हिसाव कम्प्युटरबाट हुने भए पनि कहिले काही कारोबारको अभिलेखनको क्रममा गलत किसिमबाट खातामा चढाइएको कारणबाट लेखाइमा गल्ती हुन पुग्दछ । उदाहरणका लागि पेश्की फछ्र्यौट गर्दा बैंक नगदी किताबमा एउटा अंक र पेश्की खातामा अर्को अंक चढाएमा लेखाइमा गल्ती हुन पुग्दछ । यसरी हुने गल्तीहरु अभिलेख राख्ने मानिसलाई थाहा हँुदैन । किनभने अभिलेख राख्ने मानिसले सही लेखेको छु भनेर बुभ्mने हुन्छ ।
ग. सैद्धान्तिक गल्ती ः
यस प्रकारको गल्ती लेखासम्बन्धी अपर्याप्त ज्ञान हँुदाहँुदै पनि हुने गर्दछ । यस गल्तीमा एउटा शीर्षकको रकम अर्कामा चढाएमा सैद्धान्तिक गल्ती हुन सक्छ । यस प्रकारको गल्तीमा चढाउनु पर्ने रकम र खाता फरक पर्न सक्छ ।
घ. गल्ती छोप्न गरिने गल्ती ः
यस प्रकारको गल्ती एउटा गल्तीलाई अर्कोले ढाकछोप गर्न गरिन्छ । यस प्रकारको गल्ती अलि धेरै हुन सक्छ । एउटा खातामा चढाउनु पर्ने रकम अर्को खातामा तथा एउटाको नाममा जम्मा गर्नु पर्ने रकम अर्कोको नाममा पर्न सक्छ ।
२) छलकपट पत्ता लगाउनु ः
जानीजानी गलत मनशायले गलत रकम स्वीकृत गरी आम्दानी वा खर्च लेखिएको छ भने त्यसलाई छलकपट गरेको मानिन्छ । छलकपट गर्ने तरिकाहरु फरक फरक हुन सक्छन् । छलकपट हुन सक्ने धेरै ठाउँहरु हुन सक्छन् ।
क. नगदी हिनामिना ः
छलकपट गर्ने मनशायले प्राप्त भएको रकम जम्मा वा दाखिला नगर्ने, प्राप्त भएकोभन्दा कम मात्र आम्दानी दाखिला गर्ने, नगदी किताबको खर्च महलमा काल्पनिक रकम खर्च लेख्ने, खास भुक्तानीभन्दा बढी भुक्तानी दिएको देखाउने, जम्माजम्मीमा फरक अंक देखाउने जस्ता कार्यबाट नगदी हिनामिना हुन सक्छ । नगदमा हुने हिनामिना अनियमितता पत्ता लगाउन गोश्वारा भौचर र सोसँग नत्थी गरेका बिल भर्पाई परीक्षण गर्नुको साथै नगदी रसिद, नगद खाता, बैंक नगदी किताब, बैंक स्टेटमेन्ट आदिको परीक्षण गर्नुपर्दछ । यस कार्यमा आन्तरिक लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने हुन्छ ।
ख. जिन्सी हिनामिना
जिन्सी मालसामानको हिनामिना पत्ता लगाउन धेरै कठिन हुन सक्दछ । नियमित जिन्सी निरीक्षण व्यवस्था छ÷छैन भनेर हेर्नु पर्ने हुन्छ । जिन्सी लेखा कस्तो प्रकारले राखिएको छ ? आन्तरिक नियन्त्रणको व्यवस्था कस्तो छ ? आदिको आधारमा जिन्सी हिनामिना पत्ता लगाउन सकिन्छ । सामान्य संस्थामा प्राप्त सामान जिन्सी खातामा नचढाइ वा प्राप्त भएभन्दा कम संख्यामा चढाइ वा खर्च नभएका सामान खर्च भएको देखाइ वा बिनाअभिलेख व्यक्तिगत प्रयोगका लागि सामान निकासा दिनेजस्ता कार्यबाट जिन्सी हिनामिना गरिएको हुन हुन्छ । खरिद आदेश दाखिला रिपोर्ट, माग फाराम, जिन्सी किताब, खरिद गर्दाको बिल भर्पाई भिडाएर गल्ती पत्ता लगाउन सकिन्छ । तर यो कार्य गर्दा जिन्सी शाखाले अविश्वास गरेको भनेर सम्झनु हँुदैन । अर्थात यसलाई राम्रोसँग पारदर्शी तरिकाले राख्न आवश्यक छ भन्ने कुरा सञ्चालक, कर्मचारी सबैले राम्रोसँग बुभ्mनु पर्दछ ।
ग. छल्ने नियतले लेखामा गरिएको हेरफेर पत्ता लगाउनु
यस प्रकारको छलकपट खासगरी, निजी स्वार्थ र व्यक्तिगत मनोकांक्षा पूरा गर्ने नियतले संस्थाको जिम्मेवार व्यक्तिहरुबाट यस प्रकारको काम हुने गर्दछ । कहिले संस्थाको खुद नाफा बढी देखाएर सो आधारमा बोनस र तलबभत्ता सुविधा लिने गरेको पाईन्छ । कहिलेकाही कम खुद नाफा देखाएर आयकर छल्ने गरेको पनि पाईन्छ । दीगो र प्रभावकारी सहकारी सञ्चालनको लागि आन्तरिक लेखा सुपरिवेक्षण समितिले जस्ताको तस्तै अवस्था देखाउन सक्नु पर्दछ ।
आन्तरिक लेखा सुपरिवेक्षण समितिले आन्तरिक लेखा परिक्षण गर्दा पहिला आफूले अध्ययन गर्नु पर्दछ । सहकारी ऐन, सहकारी नियमावली, सहकारी संघसंस्थाको विनियम, सहकारी सिद्धान्त, सहकारी मूल्यमान्यता, सहकारी आचारसंहिता आदिको अध्ययन गर्नुपर्दछ । सँगसँगै सहकारीका नीति कार्यविधि र साधारण सभाले गरेका निर्णयहरु, रणनीतिक कार्ययोजना आदिको राम्रोसँग अध्ययन गरेर मात्र सबै कुरा थाहा पाउन सकिन्छ । आन्तरिक लेखा सुपरिवेक्षण समितिका सम्पूर्ण सदस्यहरुले पल्र्स विष्लेषण गर्न सक्नु पर्दछ । पल्र्स अनुसार संस्था अगाडि बढेको छ की छैन भनेर यकिन भएपछि अन्य कुराहरु खोजी गर्न सकिन्छ ।
आन्तरिक लेखा सुपरिवेक्षण समितिले संस्थाको आन्तरिक लेखा परिक्षण गर्दा के के गर्न सकिन्छ ?
क) आर्थिक कारोबारहरुको परीक्षण गर्ने ः
यस अन्तर्गत बिल, भर्पाइ तथा रसिद तयार गरे÷नगरेको, आर्थिक कारोबारको भर्पाइ उठाई सम्बन्धित खाताहरुमा ठीक ढंगले पोष्टिङ गरे÷नगरेको, आम्दानी रकम सही ढंगले बाँधे÷नबाँधेको, खर्च बजेट अनुसारनै भए÷नभएको, खरिदको बिल अनुसारको सामान दर्ता भए÷नभएको, खर्च गर्ने तथा बिल प्रमाणित गर्ने अख्तियार प्राप्त व्यक्तिको दस्तखत भए÷नभएको, समयमा पेश्की फछर्याैट भए÷नभएको परीक्षण गरी गल्ती पत्ता लगाउनु र छलकपट पत्ता लगाउनु पर्दछ ।
ख) दैनिक कार्य सञ्चालनको परीक्षण गर्ने ः
सञ्चालक समिति नियमित बैठक बसे नबसेको, कर्मचारी नियमित भए नभएको, कर्मचारीहरुलाई कार्य विवरण प्रदान गरे नगरेको, कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गरे नगरेको, सदस्य बनाउँदा आवश्यक विवरणहरु संलग्न गरे नगरेको, गैर सदस्यसँग बचत संकलन गरे नगरेको, ऋण लगानी गर्दा ऋण नीति अनुसार आवश्यक प्रकृया र कागजात पुरा गरे नगरेको, भाखा नाघेको ऋणको लागि पर्याप्त ऋण सुरक्षण व्यवस्था गरे नगरेको, सदस्यहरुलाई आवश्यक सेवाहरु प्रदान गरे नगरेको, बचत तथा ऋणको व्याजदर समय सापेक्ष रुपमा परिमार्जन गरे नगरेको, लाभांश तथा सेवा प्रदानमा सदस्यहरुबीच भेदभाव गरे नगरेको, विभिन्न कार्यक्रमहरुमा सदस्यहरुको अपेक्षित सहभागिता भए नभएको, संस्थाप्रति सदस्यहरु सन्तुष्ट भए नभएको परीक्षण गर्नुपर्दछ ।
ग) नीतिगत निर्णयहरुको परीक्षण गर्ने ः
सञ्चालक समितिले गरेका निर्णयहरु सहकारी ऐन, नियमावली, मापदण्ड, सहकारी विभागबाट बेला बेलामा जारी निर्देशिकाहरु, संस्थाको आफ्नै विनियम, संस्थाका आन्तरिक नीति तथा कार्यविधिहरु, साधारणसभाको निर्णयहरु अनुरुप भए नभएको, साधारण सभाबाट पारित वार्षिक कार्ययोजना कार्यन्वयन भए नभएको, साधारणसभा तथा सञ्चालक समिति आफैले गरेका निर्णयहरु कार्यान्वयन भए नभएको, संस्था सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरु निर्माण भए नभएको परीक्षण गर्नुपर्दछ ।
घ) कर सम्बन्धी परीक्षण गर्ने ः
संस्थाका कर्मचारी तथा सञ्चालकहरुले पान नंं. लिए नलिएको, कर्मचारीहरुको तलब तथा पारिश्रमिकमा कर कट्टा गरे नगरेको, सञ्चालकहरुले पाउने भत्तामा कर कट्टा गरे नगरेको, बचतको व्याजमा कर कट्टा गरे नगरेको, घरबहाल कर, लाभांश कर कट्टा गरे नगरेको, अग्रिम कर दाखिला गरे नगरेको, किस्ताबन्दीमा कर दाखिला गरे नगरेको, तोकिएको समयमा भ्–त्म्क् गरे नगरेको आदि परीक्षण गर्नुपर्दछ ।
सहकारी समाजको आर्थिक विकासको एक सशक्त आधार एवं संवाहक हो । यसले सदस्यहरुका साथ संस्था, समाज र देशको मुहार फेर्न सक्दछ । सहकारीलाई लहडका आधारमा नभै व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्दछ । अबको आवश्यकता सहकारीमा व्यावसायिकता हो । व्यावसायिकताबिना उपयुक्त विकासको बाटो सहज हुँदैन । सहकारी ऐन, २०७४ मा लेखा सुपरिवेक्षण समितिको काम, कर्तब्य र अधिकारको सन्दर्भमा प्रत्येक चौमासिकमा सहकारी संस्थाको आन्तरिक लेखापरिक्षण गर्ने गराउने, वित्तीय तथा आर्थिक कारोबारको निरीक्षण तथा मूल्यांकन गर्ने,गराउने, सञ्चालक समितिको काम कारबाहीको नियमित सुपरिवेक्षण गर्ने,गराउने, साधारणसभा तथा समितिका निर्णयहरु कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने, संस्थामा समग्र रुपमा वित्तीय अनुशासन कायम भएनभएको जाँचबुझ गर्ने र आवश्यक सुझाव दिने उल्लेख छ । यी कार्यहरु गर्न लेखा सुपरिवेक्षण समितिको सदस्यमा निर्वाचित हुनका लागि लेखापालन तथा लेखा परीक्षण सम्बन्धी ज्ञान भएको हुनुपर्ने व्यवस्था सहकारी नियमावलीको नियम नं. २२ मा गरिएको छ ।
सञ्चालक समितिमा तथा आन्तरिक लेखा सुपरिवेक्षण समितिमा दलीय आधारमा वा अन्य आधारमा छनोट गर्नु भन्दा पनि काम गर्न सक्ने र सहकारीको सिद्धान्त, मूल्य मान्यता र आधारभूत नीति बिधि बुझेको शेयर सदस्यलाई छनोट गर्न सक्नु पर्दछ । सहकारी ऐन तथा नियमावली अध्ययन नगर्ने, सहकारी विभाग र सहकारी शाखाका निर्देशनहरु अध्ययन नगर्ने, सहकारी संस्थाको विनियम, नीति, कार्यबिधि, साधारण सभाका नियर्ण अध्ययन नगर्ने, पल्र्स विष्लेषण गर्न नसक्नेहरुले सहकारीको सञ्चालक र आन्तरिक लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी नलिदा राम्रो हुन्छ । मुख्य गरी आन्तरिक लेखा सुपरिवेक्षण समितिले यी सबै कुरामा अध्ययन गर्न जरुरी छ ।