हरि ज्ञवाली
निजी विद्यालयका चार सङ्गठनहरूले शिक्षा विधेयक–२०८२ का कतिपय बुँदामा असहमति जनाउँदै सडकमा आन्दोलन गरिरहेकै बेला सो विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । अन्तिम मस्यौदा तयार नहुँदादेखि निजी विद्यालयहरूले आफ्ना माग पूरा नभए अनिश्चित कालसम्म विद्यालय बन्द गर्ने चेतावनी दिइरहेका थिए । उनीहरू यतिबेला पनि सडकमै छन् । उनीहरूको सडकको आन्दोलन र सदनको प्रक्रियाबिचमा अब विधेयकले कस्तो प्रारुप लिने हो ?अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । निजी विद्यालयमाथि विभिन्न किसिमले अङ्कुश लगाएर कतै नेपालको गुणस्तरीय शिक्षा ध्वस्त मार्ने षडयन्त्र त भइरहेको त छैन ? आशंका भने लाग्न थालेको छ ।
किन आन्दोलित भए निजी विद्यालयहरू ?
शिक्षामा उच्च गुणस्तर दिएर मुलककै शैक्षिक इज्जत बढाएका निजी विद्यालयका सञ्चालकहरू यतिखेर जीवन–मरणको आन्दोलनमा होमिएका छन् । उनीहरू विधेयकमा उल्लेख गरिएको निजी विद्यालयले आवासीयसहितको निश्चित पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था खारेज गरिनु पर्ने अडानमा छन् । सो व्यवस्था अत्यन्तै नाजायज,असंभव र संविधानविरोधी रहेको तर्क उनीहरूको छ । निजी विद्यालयहरू हाल मस्यौदाका लेखिएको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाइनुपर्ने चेतावनी दिइरहेका छन् ।
त्यसो त निजी विद्यालयका सञ्चालकहरूले शिक्षा विधेयक संसद सचिवालयमा दर्ता भएदेखि नै तीब्र आपत्ति जनाउँदै आएका छन् । आफूले सम्पत्ति राख्ने, उपभोग र उपयोग गर्नेे संवैधानिक हक कायमै रहनुपर्छ भनेर विरोध गरिरहेका छन् । शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई सरकारले नै २०५८ सालमा कम्पनीमा लगेको अवस्थामा गुठी, सहकारी जस्ता अनेक नामले निजी विद्यालयलाई सँधैभरि त्रस्त र अस्थिर बनाउने षडयन्त्र अन्त हुनुपर्ने माग गरिरहेका छन् । निजी विद्यालयमा पढेका विद्यार्थीहरूलाई ४५ प्रतिशत आरक्षणमा विभेद गरिनुहुँदैन भन्दै अदालतमा विचाराधीन मुद्दाको उचित र सकारात्मक फैसला यथाशीघ्र हुनुपर्ने माग गरिरहेका छन् ।
निजी विद्यालयका सञ्चालकहरू सरकारविरूद्ध लामो समयदेखि नै आन्दोलित र आक्रोशित देखिन्छन् । उनीहरू निजी विद्यालयको शैक्षिक योगदानलाई सरकारले बुझ्न नसकेको गुनासो गरिरहेका छन् । सरकारले उचित मूल्याङ्कन र सम्मान गनुपर्नेमा सँधै उपेक्षित भएको र सौतेलो व्यवहार गरिएको आरोप लगाइरहेका छन् । सरकारले दिने ४५ प्रतिशत आरक्षणमा विभेद गरिएको र १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्थाले समेत निजी विद्यालयहरू संकटमा परेको र थुप्रै विद्यालयहरू बन्द भएकोमा असन्तुष्ट छन् ।
निजी विद्यालयहरू पाठ्यक्रम, अनुगमन र परीक्षाबाहेकका दैनिक कामकाज र गतिविधिमा निजी विद्यालयमाथि विभिन्न तप्काबाट गरिने अनावश्यक हस्तक्षेप बन्द हुनुपर्ने माग गरिरहेका छन् । सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषाको अतिरिक्त अङ्ग्रेजीमा पनि अध्ययन गराउने व्यवस्था गरिनुपर्ने भनिरहेका छन् । निजी विद्यालयको अस्तित्व नै नामेट हुने गरी ल्याइएको विधेयक सच्याइयोस् भनिरहेका छन् ।
तथापि यी तमाम असन्तुष्टि र विरोधका बावजुद हाल निजी विद्यालयले ३ प्रतिशत छात्रावाससहितको पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था र निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांशले उनीहरू जीवन–मरणको आन्दोलनमा होमिएका छन् । निजी विद्यालयमा हडताल हुँदाको परिणति के–कस्तो हुने हो ? ठ्याक्कै अनुमान गर्न नसकिए पनि विद्यालय बन्दले पार्ने प्रभाव पक्कै पनि सहज हुने देखिँदैन ।
तथ्याङ्कमा निजी विद्यालय
शिक्षा मानव तथा स्रोत विकास केन्द्र २०८१ को रिपोर्ट अनुसार नेपालमा करिब ८ हजार निजी विद्यालयहरू छन् । ती विद्यालयहरूमा कुल विद्यार्थी संख्याको करिब ३५ प्रतिशत विद्यार्थीहरू अध्ययनरत छन् । रिपोर्टअनुसार नेपालमा जम्मा ३५,४४७ विद्यालयमध्ये सामुदायिक विद्यालयतर्फ २६१०३ (७३.६ प्रतिशत) र संस्थागत विद्यालयतर्फ ८१४९ (२३ प्रतिशत ) विद्यालय रहेका छन् ।
विद्यार्थी संख्याका आधारमा आधारभूत तह र माध्यमिक तहमा गरी कुल विद्यार्थी संख्या ७०,१०,८०८ मध्ये सामुदायिक विद्यालयतर्फ ४६,४२,७२९ (६६.२२ प्रतिशत) र संस्थागत विद्यालयतर्फ अध्ययनरत विद्यार्थीको संख्या २३,६८,०७९ (३३.७८ प्रतिशत) देखिन्छ भने कुल ४१,८२४ पूर्वप्राथमिक कक्षामध्ये निजीस्तरबाट खोलिएका ७,८१४ (१९ प्रतिशत) छन् । यस तहमा कुल विद्यार्थी १३,०१,४२८ मध्ये संस्थागत विद्यालयमा ६,८२,५७६ (५२.४ प्रतिशत) अध्ययनरत छन् । शैक्षिक जनशक्तिका आधारमा सामुदायिक विद्यालयतर्फ २४,७,४४४ र संस्थागततर्फ करिब ४ लाख जनाले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी प्राप्त गरेको देखिन्छ ।
माथि उल्लिखित तथ्याङ्कबाट प्रतिविद्यालय विद्यार्थीभार सामुदायिकतर्फ १७८ र संस्थागत विद्यालयतर्फ २९१ देखिन आउँछ । यही तथ्याङ्कलाई आधार मान्दा आर्थिक वर्ष २०८२÷८३ मा शिक्षा मन्त्रालयलाई छुट्याइएको बजेट दुई खर्ब ११ अर्बको हिसाब गर्दा प्रति विद्यार्थी खर्च ४५,४४७ हुन जान्छ । यही दरमा संस्थागत विद्यालयतर्फका विद्यार्थीलाई खर्च छुट्याउनु परेमा राज्यले अतिरिक्त आर्थिक भार प्रतिवर्ष एक खर्ब सात अर्ब ६२ करोड (चालु पूँजी मात्र) बहन गर्नुपर्ने हुन जान्छ ।
माथिको तथ्याङ्कले संस्थागत विद्यालयले राज्यलाई ठुलो योगदान गरेको देखिन्छ । संस्थागत विद्यालयमा नेपाली शैक्षिक लगानीकर्ताको करिब छ खर्बभन्दा बढी लगानी भएको अनुमान गरिन्छ, जुन देशको कुल वार्षिक बजेटको एक तिहाइभन्दा बढी हुन जान्छ ।
एक अर्को अध्ययनअनुसार सामुदायिक विद्यालयहरूमा उपलब्ध भौतिक सुविधा तथा शिक्षक दरबन्दीलगायतमा राज्यको सबै लगानीको विश्लेषण गर्ने हो भने सरकारले आजको मूल्यमा प्रति विद्यार्थी प्रति वर्ष ८९ हजारभन्दा बढी लगानी गरेको भेटिन्छ । तर निजी विद्यालयमा विद्यार्थीले तिर्ने औषत वार्षिक शुल्क ३९ हजारको हाराहारीमा मात्र देखिन्छ । सरकारी विद्यालयमा सरकारले गरेको सम्पूर्ण खर्चलाई राज्यको धन मान्ने हो भने प्रति विद्यार्थी खर्च हेर्दा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयहरू २ गुणाभन्दा बढी महंगा भएको प्रमाणित हुन्छ । तर, शैक्षिक गुणस्तरका आधारमा मूल्याङ्कन गर्दा संस्थागत विद्यालयको नतिजा एवं गुणस्तर सामुदायिकको तुलनामा धेरै उच्च छ ।
निजी विद्यालयले धानेको शैक्षिक गुणस्तर
निजी विद्यालयहरूले नेपालको शैक्षिक क्षेत्रमा छ खर्बभन्दा बढी लगानी गरेका छन् । नेपालको समग्र शैक्षिक गुणस्तर निजी लगानीका संस्थागत विद्यालयहरूले नै धानेको देखिन्छ । तुलनात्मक अध्ययन गर्दा सरकारले खरबौँ लगानी गरेका सामुदायिक विद्यालयहरूभन्दा निजी स्तरबाट लगानी गरिएका विद्यालयहरूको नतिजा निकै अब्बल रहेको पाइन्छ ।
पछिल्लो १० वर्षको एसएलसी वा एसईई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत हेर्ने हो भने सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ३० प्रतिशतको हाराहारीमा मात्र रहेको छ भने निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशतको हाराहारीमा छ । निजी विद्यालय विद्यार्थीहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता सबैमा सदैव आफूलाई अब्बल साबित गर्दै आएका छन् ।
निजी विद्यालयकोे विगत र वर्तमानको उचित मूल्याङ्कन गर्ने हो भने राज्यको शैक्षिक शाख र प्रतिष्ठा नै निजी विद्यालयले बचाएको पाइन्छ । नेपालको शैक्षिक क्षेत्रमा निजी विद्यालय नभएको भए आज पनि नेपालको शैक्षिक अवस्था अत्यन्त दयनीय अवस्थामा रहने यथार्थ सहजै अनुमान गर्न सकिन्छ । तर बिडम्बना, समग्र शैक्षिक गुणस्तर उकासेर राष्ट्रको इज्जत जोगाउने त्यस्ता विद्यालयहरू नै पटकपटक आरोपित भइरहेका छन्, उपेक्षित भएका छन् र तमाम समस्या भोगिरहेका छन् ।
निजी विद्यालयमाथि नै वक्रदृष्टि किन ?
सरकारी विद्यालयमा शिक्षा गुणस्तर नहुँदा, पर्याप्त पूर्वाधार नहुँदा, दक्ष जनशक्ति नहुँदा निजी विद्यालयले आफ्नो स्रोत र व्यवस्थापनबाट हाम्रा विद्यार्थीलाई अन्तर्राष्ट्रियरूपमै प्रतिस्पर्धी बनाउन सफल भएका छन् । स्वदेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराइरहेका छन् । राज्यले गर्नुपर्ने लगानी गरिदिएर सरकारी दायित्व र भूमिका निर्वाह गरिरहेका छन् । सरकारले उनीहरूको योगदानलाई उचित मूल्याङ्कन गर्नुपर्ने हो । तर, निजी क्षेत्रको चार दशक लामो योगदानलाई बेवास्ता गर्दै शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न यतिखेर ल्याउन लागिएको विधेयकले निजी लगानी र रोजगारीमा गम्भीर असर पर्ने संभावना देखिदै छ ।
सरकारले आफ्ना सरकारी विद्यालयहरूमा समेत संविधानविपरीत शुल्क लिइरहेको सन्दर्भमा निजीलाई निःश्ुल्क पढाऊ भन्ने कुरा न व्यावहारिक हुन्छ न त न्यायोचित नै । गुणस्तरीय शिक्षा दिइरहेका निजी विद्यालयहरूलाई फगत नाफामुखी व्यापारीको रूपमा चित्रित गरेर कतै नेपालको गुणस्तरीय शिक्षा समाप्त पार्ने षडयन्त्र त भइरहेको छैन ? आशंका उब्जिएको छ ।
नेपालको संविधानले व्यक्तिको पेसा, व्यवसाय र लगानी सुरक्षाको प्रत्याभूत गरेको छ । संविधानको प्रतिकूल हुने गरी गरिने नीतिगत निर्णय न जायज मानिन्छ न त कार्यान्वयन हुने संभावना नै । राज्यले आफ्नै शैक्षिक जिम्मेबारी निजी विद्यालयलाई थोपर्न खोज्नु गैरजिम्मेवारी र असक्षमताको नमुना हो । यो निजी शिक्षण संस्थामाथिको वक्रदृष्टिमात्र होइन,मुलुकको रोजगारी, पूँजी निर्माण र राष्ट्रको मानव स्रोत विकासमाथि समेत षडयन्त्र भएको अनुमान गर्न सकिन्छ ।
वार्षिक २ खर्बभन्दा बढीको आर्थिक चक्रमा योगदान गरिरहेको निजी शिक्षा क्षेत्रले राज्यलाई ठूलो आर्थिक सहयोग गरिरहेको छ । सरकार आफैंले पनि विद्यार्थीलाई व्यवस्थापन गर्न नसक्ने तर निजीले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था न्यायोचित मान्न सकिन्न । कतै सरकारले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने नाममा शैक्षिक लगानीलाई निरूत्साहित गरिरहेको त छैन ? प्रश्न उठ्न थालेको छ ।
निजी विद्यालयलाई निश्चित नीति नियमभित्र बाँध्ने र नियमन गर्ने कुरा जायज छ तर, शिक्षा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा राज्यले यथेष्ट लगानी अभिवृद्धि गर्नुपर्नेमा ऐन र कानुनका नाममा निजी क्षेत्रले खाना र कपडासमेत दिनैपर्छ भन्ने तर्क त्यति जायज र सुहाउने कुरा हैन । तीन खम्बे अर्थनीति अपनाएको सरकारले निजी विद्यालय र निजी लगानीलाई हतोत्साहित गर्न खोज्नुलाई कदापि उचित होइन ।
लेखक रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ