रुपन्देहीको देवदह नगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको लागि १० बुँदे प्रतिबद्धता जारी गरेको छ । सुर्तीजन्य पदार्थ सेवन मध्यपानको न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा देवदह नगरपालिकाको तर्फबाट नगर प्रमुख धु्रुवप्रसाद खरेलले प्रस्ताव गर्नु भएको १० बुँदे प्रतिबद्धतामा सहभागी सम्पूर्णले प्रतिबद्धता जनाएका छन् ।
देवदह नगरपालिकाले जनाएको प्रतिबद्धताको पहिलो बुँदा रहेको छ सरोकारवाला तथा साझेदार निकायहरुसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि व्यापक अभियान सञ्चालन गर्नेछौं । त्यसैगरी दोस्रो बुँदा रहेको छ सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि आजको दिनबाट शुरु गरी यस देवदह नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गर्दछौं । त्यस्तै तेस्रो बुँदा रहेको छ यस पालिकाका सम्पूर्ण सार्वजनिक निकायहरुमा सुर्तीजन्य पदार्थ निषेध गरिनेछ । प्रतिबद्धताको चौथो बुँदा रहेको छ सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने व्यवस्था गरिनेछ । पाँचौं बुँदामा रहेको छ सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरुलाई सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको समन्वयमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिने व्यवस्था गरिनेछ । प्रतिबद्धताको छैंटौं नम्बर बुँदामा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अध्ययन तथा अनुसन्धान गर्दै जानेछौं भनिएको छ । त्यसैगरी सातौं बँुदामा जनसमुदाय तथा सरोकारवालाहरु जस्तैः आमा समूह, शिक्षक, पत्रकार, युवा क्लब, टोल विकास संस्थाहरु आदिसँग सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि अन्तरक्रिया तथा छलफललाई व्यापक बनाईनेछ भनिएको छ । आठौं प्रतिबद्धता रहेको छ सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी संघीय कानुन तथा जनस्वास्थ्य सेवा एन २०७५ अनुसार देवदह नगरपालिकाको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि रणनीति तयार गरिनेछ । नवौं प्रतिबद्धतामा भनिएको छ सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि निरन्तर अनुगमन तथा सुपरिवेक्षण गरिनेछ । प्रतिबद्धताको दशौं नम्बमा देवदह नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गरिनेछ भनेर प्रतिबद्धता जानाईएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयम सेविका, टोल विकास संस्थाका प्रतिनिधि लागायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवनको अवस्था, कानुनी प्रावधान लगायतको बारेमा स्वास्थ्य निर्देशनालयका भरतबहादुर कुँवरले जानकारी गराउनु भएको थियो । नेपालमा २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको र बार्षिक २७ हजार भन्दा धेरै सुर्तीजन्य पदार्थको सेवनको कारण मृत्यु हुने गरेको उहाँले बताउनु भयो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले व्यवस्था गरे अनुसार सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान नपाईने, १८ बर्ष भन्दा कम उमेरका बालबालिका र गर्भवती महिलाई सुर्तीजन्य पदार्थ विक्रीवितरण गर्न नपाईने तथा एक खिल्लि वा खुद्रा बिक्री वितरण गर्न नपाईने व्यवस्था रहेको बताउनु भयो । पालिका भित्रमा सुर्तीजन्य पदार्थको निरिक्षण र नियमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति बनाएर नियमित रुपमा गर्नु पर्नेमा जोड दिनु भयो ।
सोही कार्यक्रममा स्वास्थ्य प्रवद्र्धन विज्ञ लक्ष्मी नारायणले देवदहमा मध्यपमन न्युनिकरण र पैरवी बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नेपालमा हरेक ८ जनामा एक जनाले मदिरा सेवन गर्ने गरेको बताउनु भयो । उहाँले मदिराको कारण सामाजिक तथा घरायसी वातावरण समेत बिग्रिने हुँदा मध्यपानलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिनु भयो । १८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई जाँड रक्सी बिक्री वितरण गर्न नपाईने हुँदा नियमन नियमित रुपमा गर्नु पर्नेमा जोड दिनु भयो । मध्यपानको सेवन गर्दा धेरैले ज्यान गुमाउनु परेकोले नियन्त्रण आवाश्यक रहेको बताउनु भयो ।
अन्तरक्रियाको अध्यक्षता ग्रहण गरिरहनु भएका देवदह नगरपालिकाका नगरप्रमुख धु्रवप्रसाद खरेलले सुर्तीजन्य पदार्थ सेवन र मध्यपान सेवनमा कमी ल्याउन मानिसमा दृढ ईच्छा शक्ति आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले देवदह नगरपालिकाले बजारलाई व्यवस्थित गर्न आवश्यक नीति नियम बनाउने र नियमित सचेतना जगाउनको साथै नियमित अनुगमन गर्नेमा जोड दिनु भयो । उहाँले प्रतिबद्धता जारी गर्दै देवदहका सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण सरकारी कर्मचारी, विद्यालय शिक्षक कर्मचारी, सामाजिक संघ संस्थाका सञ्चालक तथा कर्मचारी र समाजसेवीहरुले प्रतिबद्धता कार्यन्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।
सोही कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले मानिसको बानी व्यवाहार परिवर्तन हुन समय लाग्ने हँुदा कार्यन्वयनको पाक्षमा केही ढिलो भएको बताउनु भयो । उहाँले कार्यालय तथा सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थ सेवन हटेको बताउनु भयो । मानिसको स्वास्थ्यसंँग जोडिएको सुर्तीजन्य पदार्थ सेवन र मध्यपान न्युनीकरणमा नगरपालिकाको ध्यान केन्द्रित हुनेमा उहाँले जोड दिनु भयो ।
देवदह नगरपालिका स्वास्थ्य शाखाका प्रमुख काशीनाथ बन्जाडेको स्वागत र नर्सिङ्ग अधिकृत माया पुनको सञ्चालनमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नियमनको पक्ष कमजोर रहेको र व्यापारीले व्यावसायिक धर्म पुरा नगरेको हँुदा समस्या बढिरहेकोमा जोड दिएका थिए ।