
तिलोचन दाहाल
तालिम निरन्तर सञ्चालन गरिए पनि प्रभावकारी बन्न सकेका छैनन् । संघीय सरकार देखि प्रदेश सरकार र स्थानीय सरकार समेतले हरेक बर्ष विभिन्न बिषयका तालिमहरु सञ्चालन गरे पनि प्रतिफल भने आउन सकेको छैन । तालिम सञ्चालन कार्यक्रम पुरा गर्न र बजेट सक्नको लागि मात्र गर्ने गरिन्छ । यसैकारण पनि तालिम नाम मात्रको बन्ने गरेको छ । तालिम सञ्चालन गरेर ज्ञान, सिप र व्यवाहार परिवर्तन गर्ने भन्दा पनि आर्थिक नाफा निकाल्नको लागि मात्र सञ्चालन गरिने भएको कारण तालिम नामको लागि मात्र हुने गरेको छ ।
तालिम प्रभावकारी र ज्ञान, सिप, व्यवाहार परिवर्तन गरी क्षमता विकास गर्ने हो भने तालिम सञ्चालन गर्नु अगाडि, तालिमको आवश्यकता परिचान गर्ने काम गर्नु पर्दछ । तर यहाँ त तालिमको आवश्यकता पहिचाननै गरिंदैन । आवश्यकता पहिचान नगरी सञ्चालन गरिने तालिमको उपलब्धी हुने कुरै भएन । अहिले तालिम लिनेको लागि कस्तो प्रकारको तालिम आवश्यक छ भनेर आवश्यकता पहिचान गर्नु भन्दा पनि संघ संस्था वा कार्यालयले तालिम तोकेर बजेट बिनियोजन गर्ने गरेको पाईन्छ । यसरी तालिम तोक्दा आवश्यकता एउटा हुन्छ तर तालिम अर्को सञ्चालन हुने हुन्छ । तालिमको नाम त्यही भए पनि आवश्यक बिषयहरु समावेश नभएर अनावाश्यक वा जानकारी भईरहेको बिषय हुने हुन्छ । यसै कारण तालिम प्रभावकारी हुन सकेको छैन । तालिम प्रभावकारी बनाउनको लागि तालिमको आवश्यकता पहिचान गर्नु अनिवार्य हुन्छ ।
तालिम सञ्चालन गर्नु अगाडि तालिम आवश्यकता पहिचान गर्न पाँच चरणहरु पुरा गर्नु पर्दछ ।
पहिलो चरण ः तालिमको आवश्यकता पहिचान गर्ने
यस चरणमा कुन बिषयको तालिम सञ्चालन गर्ने हो, तालिम दिनु पर्ने कारण के के हुन भनेर पत्ता लगाउनु पर्दछ । तालिम किन सञ्चालन गर्न आवश्यक छ भन्ने यकिन गरेपछि मात्र अन्य कामहरु गर्नु पर्दछ । यसमा तालिम सञ्चालन ज्ञान, सिप, व्यवाहार परिवर्तनमा के के गर्न आवश्यक छ भनेर यकिन गर्नु पर्दछ । हामीले सञ्चालन गर्ने प्रायः सबै तालिमहरु ज्ञान प्रदान गर्ने मात्र सञ्चालन भईरहेका छन् । कतिपय तालिम त अनावाश्यक मानिसहरुलाई सञ्चालन गरिरहेका छौं । यसै कारण तालिम प्रभावकारी र व्यवाहारिक हुन सकेको छैन । तालिमको डिजाइन गर्नु भन्दा अगाडि के छ ? र के हुनु पर्ने हो ? भनेर आवश्यकता पहिचान गर्नु पर्दछ ।
दोस्रो चरण ः तालिमको आवश्यकता मूल्यांकनको डिजाइन गर्ने
यस चरणमा तालिम किन आवश्यक छ ? कसरी आवश्यकता पुरा गर्ने भनेर डिजाईन गरिन्छ । मुख्यगरी तालिम सञ्चालन गर्न आवश्यकता के के हुन् भनेर छलफल गरिन्छ । यसरी छलफल गर्दा तालिमको वास्तविक विषयवस्तु तयार गर्न मद्दत पुग्ने हुन्छ । तालिम प्रभावकारी बनाउन यस चरणले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।
तेस्रो चरण ः डाटा संकलन गर्ने
तालिममा यो सबै भन्दा महत्वपूर्ण पक्ष हो । तालिम क–कसलाई आवश्यकता छ भनेर डाटा संकलन गर्नु पर्दछ । आवश्कता पहिचान र तालिम आवश्यकताको मूल्यांकन डिजाइन गरेपछि तालिम चाहिने लक्षित समूह र व्यक्तिहरुको डाटा संकलन गर्ने काम गर्नु पर्दछ । यसरी डाटा संकलन गर्दा तालिमका बिषय र लक्षित समूह पत्ता लगाउन सजिलो हुन्छ ।
चौथो चरण ः डाटा विश्लेषण गर्ने
तालिम आवश्यकता पहिचानको यो सबै भन्दा महत्वपूर्ण पक्ष हो । डाटा विश्लेषण गरेर मात्र तालिम आवश्यकताको यकिन गर्न सकिन्छ । आवश्यकता पर्ने मानिसहरु र आवश्यक बिषयबस्तु यकिन नगरी तालिम सञ्चालन गर्ने हो भने तालिम एकातिर आवश्यकता एर्कोतिर हुने हुन्छ । यसै कारण डाटा बिश्लेषण गर्दा बढी ध्यान दिन आवश्यक छ । डाटा बिश्लेषण गरेर तालिमको आवश्यकता सही रुपमा पहिचान गर्न सकिन्छ ।
पाँचौ चरण ः फिडब्याक लिने दिने
यस चरणमा तालिमको लक्षित समूहसँग बसेर प्रतिक्रियाहरु लिने दिने गर्नु पर्दछ । मूख्य गरी सही तालिम सही मानिसलाई उचित तरिकाले सञ्चालन गर्नु पर्दछ भनेर फिडब्याक लिने दिने गर्दा तालिमको सही आवश्यकता पहिचान हुने हुन्छ । अहिलेको तरिकाले तालिम सञ्चालन गर्दा उपलब्धी शून्य जस्तै हुने हुन्छ ।
यसरी प्रक्रिया पुरा गरेर तालिमको आवश्यकता पहिचान गरी सोही अनुसार तालिम सञ्चालन गर्ने हो भने मात्र उपलब्धी प्राप्त हुने हुन्छ । तर अहिले भने तालिम कसलाई कस्तो चाहिन्छ भनेर यकिन नगरी तालिम सञ्चालन गर्ने गरिरहेका छौं । जसको कारण तालिममा सहभागी हुने मानिसहरुको आप्mनो पेसा व्यवसायमा सुधार हुन सकेको छैन वा उद्देश्य पुरा हुन सकेको छैन ।
अहिले तालिम सञ्चालन गर्ने भनेको कार्यक्रम सम्पन्न गर्नको लागि प्रतिवेदन बनाउन मात्र हो भन्ने बुझाई प्रायः सबैसँग रहेको पाईन्छ । तालिममा प्रशिक्षकले समय नदिएको, बिषय बस्तु प्रभावकारी नभएको र समस्या समाधान र नयाँ ज्ञान, सिप प्रदान गर्ने र व्यवहार परिवर्तन भन्दा पनि प्रक्रिया मात्र पुरा भएको भनेर सहभागीले गुनासो गर्दा समेत सुधारको संकेत देखिंदैन । कतिपय अवस्थामा तालिम समापन गर्दा प्रशिक्षकले समय नदिएको र बिषय बस्तुमा नसिकाएको गुनासो राखे पनि सुधार भने हुन सकेको पाईदैन । कतिपय अवस्थामा त तालिममा संख्या पु¥याउन सुरु र अन्त्यमा मात्र सहभागी आएर सबै दिनको सही गर्ने गरेको पाईन्छ । कतिपय संघ संस्था र कार्यालयले फोटो खिच्नको लागि मात्र तालिम सञ्चालन गरिदिनु प¥यो भनेर अनुरोध गर्ने गरेको समेत अवस्था छ ।
यसरी सञ्चालन गरिने तालिमले आम नागरिकको ज्ञान, सिप र क्षमतामा विकास हुने भन्दा पनि नामको लागि तालिम सञ्चालन गर्ने पद्धतिको विकास भईरहेको छ । अब तालिम सञ्चालन गर्नु भन्दा अगाडि तालिम आवश्यकता पहिचान नगर्ने हो भने परिवर्तनको लागि भन्दा पनि फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने काम मात्र हुनेछ ।
तालिम सञ्चालन गर्ने हो भने तालिम आवश्यकता पहिचान गर्ने, सोही अनुसार तालिम सत्र निर्माण गर्ने, उमेर अनुसार शिक्षण सिकाई पद्धति अबलम्बन गर्ने, तालिम पश्चात फलोअफ गर्ने र पुनः ताजगी तालिम सञ्चालन गर्ने काम गर्नु पर्दछ । यसरी तालिम सञ्चालन गर्न सक्ने हो भने मात्र तालिमबाट उपलब्धी प्राप्त हुन सक्छ । यस तर्फ संघीय सरकार देखि लिएर प्रदेश सरकार र स्थानीय सकारले र सम्पूर्ण सामाजिक संघ संस्था र बित्तीय संस्थाहरुले समेत ध्यान दिन जरुरी छ ।
तालिम मात्र होईन अन्तरक्रिया र गोष्ठि सञ्चालन गर्नको लागि समेत आवश्यकता पहिचानलाई ध्यान दिन आवश्यकता छ भने सञ्चालन प्रक्रियामा समेत सुधारको खाँचो रहेको छ । तालिम, गोष्ठि, अन्तरक्रिया सञ्चालन गरेर प्रगति मान्ने भन्दा पनि सञ्चालन पश्चात ज्ञान, सिप र व्यवहारमा आएको परिवर्तनलाई आधार मानेर प्रगति मान्नु पर्ने आजको आवश्यकता रहेको छ ।